श्रीधर न्यौपाने /
भूकम्पको पराकम्पनहरुलाई दैनिकी बनाउँदै गाउँतिर रोपाई र शहरतिर संविधान अनि बजेटका कुराले मन खिच्न खोजिरहेका थिए । प्रिय दाइ अमर न्यौपानेको उपन्यास करोडौं कस्तूरी बजारमा आउन लागेको खबर सामाजिक सञ्जालहरु, अखबार र अन्य सञ्चारमाध्यमले दिन थाले । पानीको घाम र सेतो धरती पस्किएर पाठकको मन जितिसक्नुभएका अमरदाइको उपन्यास पढ्न हतारिएको सहर दखि गाउँ सम्मका पाठक मध्य म पनि थिए । पहिले फेसबुकमा त्यहि दिन फोनबाट अमर दाइले उपन्यासको विमोचनको चुलै निम्तो दिनुभयो । आतुर मन झन आतुर भयो । असार २२ गते कहिले बज्ला तीन, एकेडेमीमा पुगेर उपन्यास हाता पर्ला जस्तो भयो ।
तीन बज्दा नबज्दै पुगेको, अमर दाइलाई सबै उमेरका, बर्गका अनि लिङ्गका पाठकले घेरा हालीसकेका रहेछन् । एकछिन ढिला गरे बस्ने ठाउँ पनि नपाईएला भनेजस्तो लाग्यो । नभन्दै करिब माथिको सानो हल भरिईसकेको रहेछ । मैले त बस्ने ठाउँ पाएँ । पछि जाने त उभिए । उनीहरु कार्यक्रम भरि यति धैर्य भएर उभिए कि लाग्यो ७ रेक्टर स्केल सम्मको भूकम्प आएपनि अमर न्यौपानेको कृति नलिई ठाउँ छोड्नेवाला छैनन् । कलाकार हरिवंश आचार्य, शिक्षाविद केदारभक्त माथेमा र लेखक अमर न्यौपानेले संयुक्त रुपमा उपन्यास विमोचन गर्नुभयो । तालीको गढगढाहट पछि फाइनप्रिन्टका अजित बराल, उपन्यासका पात्रबिम्ब हरिवंश आचार्य, शिक्षाविद केदारभक्त माथेमा र लेखक अमर न्यौपानेको कुरा सुनेपछि पुस्तक कहिले हातपर्ला जस्तो भयो ।
नभन्दै एकैछिनमा चाहना पुरा भयो, हात पारियो, लाग्यो भरे नै पढिसकौंला तर सहरवासीले पढ्नमात्रै कहाँ पाउँछ र, सर्सती हेरेर टेबलमाथि राखें । फेरि हेरौ फेरि भ्याइएन । शनिवार पढौंला भनेर थन्किएको उपन्यासका ३ सय ७० पृष्ठ पढ्न करिब ६ घण्टा लाग्यो । आहा । मैले करोडौ कस्तुरी भित्र अरबौैं मानिसका कुरा पाएँ मेरै कुरा पाएँ ।
उपन्यास भित्र
कसरी थापापाए होलान चितवनका अमर न्यौपानेले सिन्धुपाल्चोकको श्रीधर न्यौपानेको कुरा ? मेरो विद्यालय, मेरा साथीहरु, मेरो बानी, मेरो पौडी खेल्ने खोला, कपडा लुकाईदिनेहरु ? इच्छा एकातिर पढाई अर्कातिरको पीडा त सबैले भोगेका हुँदा रहेछन है, मैले यहिँ बुझें ।
उपन्यास फुकाउँदै लग्यो, शव्दहरु अमर न्यौपानेका लागि बनेजस्ता, मिलाउन जान्ने उनै धेरै सिपालु हुन कि जस्ता, सिपालु सिकर्मीले काठ सोझ्याएर फर्निचर बनाएजस्तो, बाउँठा र नमिलेका ढुङ्गालाई डकर्मीले कुँदि कुँदि सुर मिलाए लगाएको पर्खाल जस्तो मिलेका । पात्रहरु अमर न्यौपानेकै लेखनका लागि तयार भैदिएजस्ता तर हरेक गाउँ, विद्यालयमा र गल्लीहरुमा भेटिरहेका बोलीरहेका जस्ता, बालापनको अनुभवले हरेक पाठकले आफूलाई पात्रका रुपमा खोज्नु, दाँज्नु र भोगाईहरु सम्झने अवस्थामा पुर्याउनु लेखकिय गुण मान्नुपर्छ । अनि पात्रले बोल्ने सम्वाद, उनीहरुका तर्र्कै पिच्छे दिने जीवन दर्शनले सितिमिति किताब नछौडौ बनाईदियो । एकै बसाईमा सकें । यति सरल भाषामा जीवन दर्शन दिने खुवी सायदै कमै नेपाली युवा लेखकमा पाईएला ।
उपन्यासमा उभ्याईएका पात्र सबै सशक्त छन् । यति सशक्त छन कि सबै पात्रलाई न्याय गर्न मनलाग्छ । उसलाई चैं खलपात्र मानौ भन्यो तिनै गह्रौं तर्क गर्छन । पाठकले सोचे, कल्पाना वा अनुमान गरे भन्दा ठूला तर्क गर्ने पात्रहरुले कैलेकाही त उमेर भन्दा ठूला भारी बोक्न सक्ने बलिया र खँदीला गाउँले केटाकेटीको झल्को दिने । लेखकले वनाएको परिवेश र वातावरणले अलि बढि पो गर्यो कि भन्ने ठाउँ पनि छैन । पात्रहरुले यस्ता तर्क गरिदिन्छन कि पाठकले एकछिन अब के गर्नेहोला भनेर उत्तर खोज्न थालुन । जिज्ञासा पाठकका लागि पनि हुन् । जस्तो कि मुख्यपात्रको बाध्यता : मलाई पढ्नुपर्छ भन्ने थाहा छ तर पढ्न मन लाग्दैन । के गर्ने होला ? यो प्रष्न सम्म आईपुगुन्जेल लेखनले बनाएको परिवेशमा हुर्किएको यो पात्रलाई पढ्न मलाई पनि कर गर्न मन छैन । यो लेखकिय शक्ति हो । तर घर समाज नपढी सुख दिनेवाला पनि छैन । त्यहि भएर हुनुपर्छ, पात्र कुनै बेला पागल भएको बेला यसरी आगो ओकल्छ कि नेपालको शिक्षा प्रणाली र तीनका ठेकेदारहरुले एक पटक उपन्यास पढे भने तिनको बुद्धिको भाँडामा लागेको विर्को खुल्न सक्छ । शिक्षा प्रणाली असफल हुँदा विद्यार्थी असफल भएको दोष थोपरिरहेकाहरुले उपन्यासको पात्र बोलेको त हो नि भनेर चुप लाग्ने ठाउँ नछोडिनु यो उपन्यासको अझ सबल पक्ष लाग्यो । विद्यार्थी, शिक्षक र अभिभावकलाई समपर्ण गरिएको उपन्यासले जति हँसाउँछ त्यो भन्दा बढि रुवाउँछ । अझ त्यो भन्दा पनि बढि हाम्रो शिक्षा प्रणालीलाई गिज्याउँछ, पढेपछि मलाई यस्तै लाग्यो ।
मुल सन्देश
मुल पात्रको पिरलो एकातिर छ, भन्छ : किताबको भारी त जति पनि बोक्न सक्ने भएँ तर किताबका कुरा बोक्न नसक्ने भएँ । अर्को पात्र जो पढ् पढ् भन्दा अरु केही भन्दैन, मुल पात्रको अरु क्षमता देखेर भन्छ ः दिमाग नभको होर तेरो मन नभको । बालबालिकाको मन चै केमा छ भनेर थाहा नपाउनु, पाउन नसक्नु वा थाहा पाएर पनि हामीले वा मैले भनेजस्तोहुनुपर्छ भनेर लाद्नु जो हाम्रो शिक्षा प्रणालीले गर्दै आएको छ, त्यसैको विरुद्ध सशक्त, बलिया तर्क सहितको आवाज, प्रमाण सहितको आवाज हो करोडौं कस्तूरी : मलाई लागेको । पढ्न आएको विद्यार्थीलाई कुुखुरा बनाउने अनि गधा भने गाली गर्ने, लौरी विना पढ्ने चाहनाको कल्पना समेत हुन नसक्ने शिक्षालयहरुको यथार्थ चित्रण गरिएको उपन्यासमा पठनीय बनाउन अमर न्यौपानेका प्रयोगहरु पनि उत्तीकै सफल लाग्यो । शिक्षकको समेत अनुभव संगालेका न्यौपाने उपन्यासमा एउटा पात्रलाई यसरी तर्क गर्न लगाउँछन : के पढाईलाई मिठो बनाउन सकिंदैन सर ? यहि प्रष्न वरपर, तलमाथि, छेउकुना खोतल्ने क्रममा दिमागका सबै छेउकुना खोतल्छ उपन्यासले । आशा गरौं शिक्षालयका ठेकेदारहरुले यसको उत्तर खोजुन ।
आक्रोश
एक पाठकको आँखाबाट मलाई लागेको करोडौं कस्तूरीमा उपन्यासकार अमर न्यौपानेले मुल पात्रलाई बोल्न लगाएको आक्रोशलाई धेरैले यथार्थ मान्न सक्छन । पात्र शिक्षा प्रणालीसंग यति धेरै असन्तुष्ट कि छ, भन्छ : परिक्षा बिग्रिएको हुन्छ तर शिक्षक र अभिभावकहरु विद्यार्थी बिग्रियो भन्छन, कक्षामा फेल हुँदा पनि जीवनमा फेल भएझै गर्छन । शिक्षाको काम आफ्नै जीवनको नदीलाई बाँध बाँधेर बिजुली निकाल्नु हो । अरुकै जीवनको बिजुली ल्याएर दुईचार ओटा बल्ब झुण्ड्याउनु मात्रै होईन । यो तर्कमा मेरो जस्तै सुधारकहरुको सहमती हुन सक्ला नसक्ला तर धेरै पाठकको सहमती हुने पक्का पक्की छ । फेरि पनि अर्को सफल उपन्यासको सृजनाका लागि प्रिय दाइ अमर न्यौपानेलाई धेरै धेरै शुभकामना ।
सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।