July 15, 2015

मोबाईलमा मौसम सम्बन्धी सुचना पाएपछि उत्पादन बढ्यो

कृषिमा प्रयोग हुने सामाग्रीको प्रयोगमा सहजता  

श्रीधर न्यौपाने ।  नेपाल विकास अनुसन्धान प्रतिष्ठान एन डि आर आईले नेपालमा पहिलो पटक किसानहरुमा गरेको अनुसन्धानबाट किसानलाई मोबाईलमा मौसम सम्बन्धी सुचना पठाउँदा कृषि उत्पादनमा ठूलो टेवा पुग्ने र कृषि उत्पादनमा वृद्धि हुने कुरा पुष्टि भएको छ । एन डि आर आईले धनुषाका दुइ गाविसमा गरेको एक बर्षे पाईलट परियोजनाबाट यो कुरा पुष्टि भएको हो । अनुसन्धान धनुषाको सिंगरजोरा र बननीयाँ गाविसका करिब २ हजार ५ सय किसानमा गरिएको थियो । नेपालमा कृषि सम्बन्धी ज्ञान र सुचना प्रयोशाला तथा अनुसन्धान केन्द्रमा मात्रै सिमित रहेको विडम्बनापुर्ण अबस्थामा अनुसन्धानले नयाँ आशा पलाएको छ । 

 देशको कुल जनसंख्या मध्ये करिब ९५ प्रतिशत जनताको हातमा मोबाईल पुगिसकेको अबस्थामा यो मोबाईल केवल सुचना आदान प्रदान र  हालखबर सोध्ने कुरामा मात्रै सिमित छ । यसको थप प्रयोगको बहस कमै मात्रै चलेको छ । मोबाईलको प्रयोग जीवनस्तर उकास्ने काममा प्रयोग हुन सकेको छैन । अझ किसानले बोक्ने मोबाईलको प्रयोग कृषिको काममा लगाउन सकिएको छैन । परिवर्तीत मौसमी अबस्थाका कारण किसानलाई खेतीपाती गर्न ठूलो चुनौति उत्पन्न भएको छ । यसले कृषि उत्पादनमा ठूलो ह्रास आएको छ भने कृषकहरुको जीवन निर्वाहमा कठिनाई आएको छ ।
एन डि आर आईल पाईलट परियोजना संचालन गरिएको स्थानका किसानलाई मोवाईलमा म्यासेज मार्फत  गहुँ, चैते धान, आलु र मुसुरो लगाएतका लदहन खेति लगाउनु पूर्व, बालि लगाइएको बेला, देखि थन्क्याउने बेला सम्मको मौसम अनुसारको कृषि सल्लाह मोबाईलमा पठाईएको थियो । उनीहरुलाई मलखाद, सिंचाई विषादी हाल्ने बेला, तरिका समेत म्यासेज मार्फत पठाईएको थियो । साथै स्थानिय स्तरमा मोबाईल नभएको किसानलाई मौसम सम्बन्धी सुचना प्रिन्ट गरेर दिईएको थियो । एन डि आर आईले नेपाल कृषि अनुसन्धान परिषद नार्क,  जल  तथा मौसम विज्ञान विभाग  र युएस ए आई डिको सहयोगमा भारतको स्काईमेट वेदर सर्भीसबाट मौसम सम्बन्धी जानकारी लिएर किसानसम्म पुर्याईएको हो । 
परियोजना पाईलट गरिएका दुई गाविसका किसानमा मोबाईलमा आउने मौसम सम्बन्धी सुचना र विषादी प्रयोग सम्बन्धी सुझाव सल्लाहले दुईवटा फाईदा पुगेको पुष्टि भएको छ । जसमा मौसमी सुचनाका आधारमा उत्पादनमा सहभागि भएका किसानले उत्पादन वृद्धि गर्न सफल भएका छन भने कृषिमा प्रयोग हुने आवश्यक सामाग्रीको प्रयोगमा सहजीकरण भएको छ । यसरी आउने सुचनाले कृषि बालीमा  विषादी प्रयोगको समय, मात्रा, सिंचाई तथा मलखाद व्यवस्थापन गर्न सहज भएको छ । यस्तै पाईलट प्रयोगका बेला छानिएका किसान बाहेकका किसानले पनि कार्यक्रममा सहभागिताको चासो देखाएका थिए । सबैभन्दा महत्वपुर्ण कुरा एक बर्षे पाईलट परियोजना संचालन गरिएका गाविसका किसानले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनीरुले आफूहरुले मोवाईल म्यासेजका लागि आवस्यक न्युनतम महसुल तिर्न समेत तयार रहेको बताएका छन् ।  
परियोजनाका बारेमा जानकारी बुधवार आयोजित कार्यक्रममा पुर्वमन्त्री गणेश शाहले सरकारले यो बर्ष कृषिमा बजेट बढाएकोमा धन्यवाद ज्ञापन गर्दै, किसानलाई प्रविधि मार्फत सहयोग गर्न आग्रह गर्नुृभयो । कृषिमा आएको अनुदानलाई धेरै प्रयोग गरौं उहाँको भनाई छ । किसानका लागि योगदानबारे सोच्न जरुरी रहेको शाहको सुझाव छ । कृषिको क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोगले किसानलाई लाभ भएको बताउँदै कृषिमा प्रविधि जोडिएमात्रै उत्पादनमा वृद्धि गर्न सकिने उहाँको भनाई छ । कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले हरेक कृषि उत्पाद सुरु गर्नु अघि देखि थन्क्याउने बेला सम्म चाहिने आवस्यक सुचना किसानसम्म पुर्याउन सक्दा मात्रै कृषकले फाईदा लिन सक्ने बताउनुभयो । उहाँले किसानका लागि आवस्यक सुचना प्रविधि मार्फत पुर्याउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल कृषि अनुसन्धान परिषद नार्कका बरिष्ठ बैज्ञानिक डा आनन्द कुमार गौतमले यो विधिको प्रयोगले किसानलाई फाईदा पुगेको बताउनुभयो । उहाँले यसको फाईदा कृषिमा मात्रै नभए शिक्षा क्षेत्रमा पनि भएको भन्दै भारतको हैदरवादमा स्कुलमा राखिएको जानकारी लिएर विद्यार्थीले आफ्ना बा आमालाई जानकारी दिएर फाईदा पुर्याएको उदाहरण दिनुभयो । एन डि आर आईले गरेको सुरुआतलाई धन्यवाद दिँदै उहाँले यो विषय सबै क्षेत्रमा काम लाग्ने बताउनुभयो । 
परियोजनाका  संयोजक समेत रहनुभएका एन डि आर आईका कार्यकारी निर्देशक डा जय कुमार गुरुङले यो परियोजनाई निरन्तरता दिन जिल्ला कृषि कार्यालयहरुलाई  आग्रह गर्नुभयो । किसानका लागि देशका सबै जिल्लामा मोवाईल मार्फत मौसमी सुचना पठाउन सकिएमा देशकै उत्पादकत्वमा वृद्धि हुने बताउनुभयो । धनुषामा गरिएको अनुसन्धानबाट आएका उपलब्धिका बारेमा एन डि आर आईका अनुसन्धानकर्ताहरु सुर्य ढुंगाना र स्नेहलता सैंजुले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा किसान, पत्रकार लगाएतका सम्वन्धीत क्षेत्रका व्यक्तिहरुले धारणा राख्नुभएको थियो । 
एन डि आर आई ले किसानलाई कृषि सम्बन्धी जानकारीका लागि एग्रोपोर्टल मार्फत सुचना पठाउने गरेको छ । स्काईमेट वेदर सर्भीस मार्फत आएका मौसम सम्बन्धी सबैखाले जानकारी र सुचना एग्रो पोर्टलमा जम्मा हुने व्यवस्था मिलाईएको अधिकारीहरुले जानकारी दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद नार्कका बैज्ञानिकहरुले कृषककालाई आवश्यक पर्ने सुचना तयार गर्छन । यसका लागि क्रप क्यालेण्डर (बाली क्यालेण्डर) का आधारमा क्लस्टर तोकेर कृषि सुचना पठाउने प्रक्रिया तय गरिएको छ एन डि आर आईकी अनुसन्धानकर्ता स्नेहालता सैंजुले भन्नुभयो यसरी दिईने सुचनामा सिंचाई गर्ने वा नगर्ने, विउ राख्ने वा नराख्ने, कति विषादी, कुन विषादि प्रयोग गर्ने, वाली लगाउने वा नलगाउने सम्बन्धी सुचना हुन्छ । 
यसरी तयार गरिएको मौसम सम्बन्धी सुचना किसानहरुको मोवाईलमा म्यासेज जान्छ । धनुषामा गरिएको अनुसन्धानमा किसानलाई मैथली र नेपाली भाषामा पठाएको हो । मोवाईल नभएका किसानका लागि स्थानिय स्तरमा कामगर्ने सहजकर्ता मार्फत इमेलमा आएको सामाग्र्री प्रिन्ट गरेर किसानलाई दिने व्यवस्था गरिएको परियोजनाले जानकारी दिएको छ ।  परियोजनाले टोल फ्रि नम्बर राखेको छ । टोल फ्रि नंबरका बारेमा म्यासेज मार्फत किसानलाई जानकारी गराईएको छ । टोलफ्रि नंबर मार्फत आउने प्रशस्त जिज्ञासालाई  नेपाल नार्कका विज्ञहरुकहाँ पुर्याएर उहाँहरुको सुझाव लिईने  र प्रष्न सोध्ने किसानलाई उत्तर दिईने परियोजनाले जनाएको छ । 
                                                                                                                            @ श्रीधर न्यौपाने ।