November 29, 2015

रोजगार कोषले “पुनर्निर्माणका लागि सीप” संचालन गर्ने


श्रीधर न्यौपाने । काठमाडौँ, रोजगार कोष /हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले नयाँ कार्यक्रम पुनर्निर्माणका लागि सीप को सुरुआत गरेको छ ।

२०७२ बैशाख १२ को महाभूकम्प र त्यसपछिका परकम्पहरूबाट अति प्रभावित १४ मध्येका ६ जिल्ला  ( सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखा, रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रमको पहिलो चरण सुरु हुन लागेको हो । 

यो कार्यक्रमअन्तर्गत ३ हजार युवालाई पुनर्निर्माणसम्बन्धी सीप दिइने रोजगार कोषका संचार संयोजक कोमल भट्ट्ले जानकारी दिनुभयो । शुक्रबार एक सार्वजनिक कार्यक्रममा कोषले कार्यक्रमको विस्तृत जानकारी गराएको हो ।

रोजगार कोषको सचिवालयका टिम लिडर सुवास सुवेदीको स्वागत मन्तव्य र टिभेट संयोजक बालमुकुन्द न्यौपानेले कार्यक्रमको कार्यान्वयन चक्र सहित सुरु भएको कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयका सह सचिव डा. लवदेव अवस्थीले रोजगार कोषले नेपाल सरकारले सीपमूलक तालिमका क्षेत्रमा पुर्याउँदै आएको योगदान कदरयोग्य रहेको बताउनुभयो । नेपाल सरकार पुनर्निर्माण प्राधिकरण मार्फत एकीकृत प्रयास हुनुपर्ने औँल्याउँदै उहाँले यसले पुनर्निर्माण कार्यलाई अघि बढाउन मद्दत गर्ने बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का सदस्य सचिव डा. रामहरि लामिछानेले परिषद्ले अगामी दिनमा हुने सबै तालिमहरुमा परिषद्को पाठ्यक्रमलाई नै लागू गर्नुपर्ने र आफुखुशी चलाइएका तालिमलाई नेपाल सरकारसँगको समन्वयमा मान्यता नदिइने बताउनुभयो । परिषद् सीपमूलक तालिम र प्राविधिक शिक्षाको सर्वोच्च निकाय भएकाले आगामी दिनमा सीपमूलक तालिम कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले लिएको पुनर्निर्माणको नीतिलाई परिषदले परिपूरकको रुपमा काम गने बताउनुभयो । 

स्वीस सरकार विकास सहयोगका (एसडीसी) वरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारीले स्वीस सरकारले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा पुर्याएको योगदान जारी रहने बताउँदै स्वीस सरकारले पुनर्निर्माणका क्षेत्रमा अझ बढी केन्द्रित रहने बताउनुभयो ।
Program at Union house 

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका राष्ट्रिय निर्देशक डा. भरत पोखरेलले भूकम्प पछिको पुनर्निर्माणमा व्यक्तिगत स्तरबाटै सहयोग पुर्याउनुपर्नेमा विकास साझेदारले नै आर्थिक सहयोग सहित कार्यक्रम सुरुआत गर्नुले सजिलो बनाएको बताउनुभयो । उहाँले हेल्भेटासले स्वीस सरकारको आर्थिक सहयोगका अलावा स्वीट्जरल्याण्डमा स्वीस नागरिकका तहबाट प्राप्त आर्थिक सहयोग पनि अन्य स्वीस गैर सरकारी संस्थासँगको सहकार्यमा पुनर्निर्माणका अन्य क्षेत्र (जस्तै : खानेपानी, स्कूल र व्यक्तिगत घरको निर्माण ) मा पनि एकिकृत प्रयासले अझ प्रभावकारी तुल्याउने बताउनुभयो ।

यो कार्यक्रमले भूकम्पबाट अति प्रभावित विपन्न तथा गैर लाभान्वित समुदायका घरधुरीका १६ देखि ४० वर्षसम्म (स्थान र सन्दर्भ हेरी ४० वर्षभन्दा माथिका पनि) का महिला तथा पुरुष युवालाई भूकम्प प्रतिरोधी प्रविधिसहितको पुनर्निर्माणसँग सम्बन्धित सीप प्रदान गर्नेछ । युवाका लागि तालिम निःशुल्क रुपमा उपलब्ध गराइनेछ । कार्यक्रमले यसरी प्रदान गरिएको सीपबाट सहभागी आफ्नै घर निर्माण गर्न सक्षम हुने र निर्माण /पुनर्निर्माण क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकतालाई सहयोग पुर्याउने  लक्ष्य लिएको छ । रोजगार कोषलाई पुनर्निर्माणका लागि सीप कार्यक्रम सञ्चालनका लागि स्वीस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोग प्राप्त छ । 

पुनर्निर्माणका लागि सीप कार्यक्रम प्रशिक्षार्थीलाई तालिम अवधिमै तालिम सँगसँगै भूकम्प प्रतिरोधी प्रविधिसहितको वास्तविक घर बनाउने पद्धतिमा सञ्चालन हुनेछ । इँटा तथा ढुङ्गे डकर्मीसम्बन्धी तालिमको अवधि ३२० घण्टा (५० दिन) हुनेछ भने निर्माण क्षेत्रका अन्य पेशा (जस्तैः प्लम्बर, इलेक्ट्रिसियन, कन्स्ट्रक्सन कापेन्ट्री, वेल्डर, बार बेन्डर) का लागि ३९० घण्टा (५० दिन) को समय हुनेछ । १० जनाको ब्याचमा २ ओटा समूह हुने र २ जना मुख्य प्रशिक्षक रहने तालिममा प्रशिक्षकको प्रत्यक्ष निगरानी र संलग्नतामा तालिम प्रत्येक तालिमे समूहले तालिम अवधिमै ६०० वटा भूकम्प प्रतिरोधी प्रविधिसहित घर निर्माण भइसक्नेछन् । कार्यक्रम आगामी सन् २०१६ को डिसेम्बरसम्म सञ्चालनमा रहनेछ । पहिलो चरणको यो कार्यक्रमअन्तर्गत तीन हजार (३,०००) युवाले भूकम्प प्रतिरोधी प्रविधिसहितको घर निर्माण तालिम प्राप्त गर्नेछन् । यो कार्यक्रमले प्रशिक्षित भएका तीन हजार युवाले सन् २०१६ को डिसेम्बर सम्ममा कम्तीमा पनि चार हजार (४,०००) भूकम्प प्रतिरोधी प्रविधिसहितको घर निर्माण गर्ने लक्ष्य लिएको कोषले जनाएको छ ।  

प्रशिक्षार्थीहरूलाई निर्माण क्षेत्रका विधिसँग अद्यावधिक र परिचित गराउने उद्देश्यले रोजगार कोषले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) लाई भूकम्प प्रतिरोधी प्रविधि सहितको घर निर्माण पाठ्यक्रम परिमार्जनका लागि सहयोग गरेको छ । पाठ्यक्रममा आधारित तालिम म्यानुअल पनि कोषले तयार गरिसकेको संचार संयोजक भट्टले जानकारी दिनुभयो ।  तालिममा संलग्न हुने प्रशिक्षकलाई सुरुमा भूकम्प प्रतिरोधात्मक प्रविधियुक्त सीपको प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिनेछ । यसरी प्रशिक्षित भएका प्रशिक्षकले मात्र पुनर्निर्माणका लागि सीप कार्यक्रमअन्तर्गत प्रशिक्षित हुने प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन पाउनेछन् ।

रोजगार कोषले यसका अघिल्ला कार्यक्रम जस्तै यो कार्यक्रमका लागि पनि नतिजामा आधारित भुक्तानी प्रणाली अपनाएको छ । यो प्रणाली अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित सीप पाएका प्रशिक्षार्थीले तालिमपश्चात सीप प्रयोग गरी आफ्नै घरको पुनर्निर्माण या निर्माण क्षेत्रमा सीपयुक्त जनशक्तिको रूपमा काम गरी तोकिएको आय आर्जनको मापदण्ड (मासिक रु. ६,२००) पूरा गरेपछि मात्र तालिम तथा रोजगार सेवा प्रदायक संस्थालाई सम्झौता भएअनुसारको भुक्तानी दिइनेछ । नेपाल सरकार तथा स्वीस सरकारबीच भएको सम्झौता अनुरूप साझा कोषका रूपमा सन् २००७ मा स्थापित रोजगार कोषलाई हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले सन् २००८ देखि सञ्चालन गर्दै आएको छ । निजी क्षेत्रका तालिम तथा रोजगार सेवा प्रदायकको अगुवाईमा सन् २००८ देखि यस कोषले वर्षेनी १५ हजार भन्दा बढी युवालाई सीपमूलक तालिम मार्फत रोजगारीमा जोड्दै आइरहेको छ ।