October 12, 2015

कसरी दशैं मनाउ सरकार ?





सुने सिंहदरबारमा नयाँ सरकार आयो  रे
सुने पात्रोले नयाँ दशैं ल्यायो रे

तर यसपाली सिन्धुपाल्चोक, गोरखा र अरु थुप्रै जिल्लाहरुमा
भुईचालोको भग्नाबशेषहरुबाट गन्ध हराएको छैन
पीडै पीडाले डामीएका मनहरु,  झन झन पीडामा जिईरहेछन
महिनौ देखिको राहतको आशा झन झन खिईरहेछन
अनि, म कसरी दशै मनाउँ सरकार ?

मुस्कीलले दिईएको पन्ध्र हजारले भित्तो ठडिएको छैन
आफन्त र छिमेकी गुमाएको पीडाले आँसु अडिएको छैन
अनि, म कसरी दशै मनाउँ  सरकार ?

ओत लाग्ने भित्तो भए त्यहिँ मुन्टो जोत्ने थिएँ
सरकारको जय गाउँदै त्यहि भित्तो पोत्ने थिएँ
तर, यो दशैंमा न त पोत्ने भित्तो छ,
छाप्रो र मन दुबै रित्तो रित्तो रित्तो  छ
अनि, म कसरी दशैं मनाउँ सरकार ?
 
सुने सिंहदरबारमा नयाँ सरकार बन्यो रे
तिम्रो उपस्थितिले आँखा ओभाउने थिए कि ?
छटपटिएका मन थामीन सघाउने थिए कि ?
भन, म कसरी दशै मनाउँ सरकार ?

श्रीधर न्यौपाने
सिन्धुपाल्चोक  

@ श्रीधर न्यौपाने