मंसिर ८ गते हजुरबाको दिवंगत हुनुभएको १६ बर्ष पुगेछ । १० गते हिजो बार्षिक रुपमा उहाँलाई सम्झने तिथि थियो । बा र काकाहरुले आफ्ना पिताजिका बारेमा अनेकन लेख रचना, साहित्य र स्मरण लेख्नु भएको छ । मैले त्यहि पढेर अनुभूत गर्दथें । तर नातिका रुपमा मैले गरेको अनुभूतिका केही विषय यहाँ स्मरण गर्न मन लाग्यो । थुप्रै स्मृतिमध्ये केही यहाँ कोट्याएको छु।
२०५० सालतिरको कुरा हो, म श्री आनन्द मावि जलविरेमा कक्षा ६ मा पढ्थें । अभिभावक दिवसमा हजुरबालाई स्कुलले अतिथिका रुपमा मञ्चमा राखेको थियो । विद्यालयलाई चन्दा सहयोगसमेत गर्नुभएकोले उहाँलाई बोल्न दिइयो । उहाँले विद्यार्थीलाई पढाइमा कडाई गर्नु, यहाँ पढेका विद्यार्थी भनेपछि अरु ठाउँमा जाँदा पनि नहेपिउन, यिनले भनेको नमाने कान निमोठे हुन्छ तर कमजोर पढाइले हुँदैन भनेर भाषणमै सुझाव दिनुभएको याद ताजै छ ।
एसएलसिको रिजल्ट आएपछि हजुरबालाई पास भएको सुनाएँ । बेसी घरमा हजुरआमाले बेलुकाको खाना पकाउँदै हुनुहुन्थ्यो । घर भरीभराउ थियो त्यो दिन । पास भाको हो त भन्नु भयो, हो भनें । एउटा तमसुक लेखेर ले त भन्नु भयो । मैले त्यो त पढाई भएन, सक्दिन भनें । उसो भए अंग्रजी त पढाए होलान, म हजुरआमाले चुलामा पकाको तात्तातो भात भैंसिको दुधसँग मुछेर खान्छु भनेर अंग्रेजीमा भन भन्नुभयो ।
उहाँलाई अंग्रेजीको राम्रो दख्खल थियो । विसं १९९७–२००२ सन् १९४०–१९४५० मा दोस्रो विश्वयुद्ध चलिरहँदा उहाँ हिराबहादुर न्यौपानेको नामले गोर्खा–भारतीय सिपाहीका रूपमा भर्ना हुनुभएको रहेछ । खास नाम हिरालाल न्यौपाने भएपछि नेपालीहरूलाई बहादुर भनेर मात्रै भर्ती गरिन्थ्यो रे । अनि उहाँलाई बेलायतमा विभिन्न युद्धभूमिमा लड्न पठाइएको रहेछ । उहाँको पल्टनमा गएका मध्ये निकै सानो संख्या मात्रै सकुशल फर्केका रहेछन् । त्यसबेला उहाँले राम्ररी अध्ययन गर्न पाउनु भएको रहेछ ।
विसं १९७९ आश्विन १ गते जन्मनु भएका उहाँको ८८ वर्षको उमेरमा विसं २०६६ साल मङ्सिर ८ गते निधन भएको थियो । युद्धबाट फर्केर आएपछि लाहुरे नामले चर्चीत उहाँले पछि अड्डामा बहिदार र ज्योतिष विद्या सिकेर पण्डितको नामले निकै चर्चित हुनुहुन्थ्यो । गाउँमा विद्यालय स्थापना गराउनु भयो ।
साथिहरु मेरो चिना तिम्रो हजुरबाले बनाइदिनुभएको भनेर अहिले पनि सुनाउँछन् । बेलायतमा छँदा उहाँले तत्कालीन सैनिक शिक्षालयबाट सेकेन्ड क्लाससम्मको अध्ययन गर्न पाउनु भएकोले मलाई अंग्रेजी परिक्षा लिनु भएको थियो । मैले बढो मुस्किलले आधा दर्जन प्रयासमा हजुरबाको चित्त बुझ्ने उत्तर दिन सकेको थिएँ । गाउँको विद्यालयमा त्यो बेलाको अंग्रेजी पढाई बुझाई कस्तो थियो भन्ने गोकर्णदास श्रेष्ठ र धिरज कायस्थ र भोजराज पौडेल सरसरलाई धेरै ज्ञान छ । मैले त्यति उत्तर दिन सक्नुमा अर्को परिक्षा पास भएको महसुस गरें । उहाँ मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो । अचार र चिया उहाँका नटुट्ने खान्कि थिए । उहाँ गाउँ गाउँ हिँडिरहनुहुन्थ्यो । जहाँ पुगेपनि आफैं पकाएर खाने । नियम र आचरणमा कहिल्यै सम्झौता नगर्ने उहाँको स्वभाव थियो ।
२०५९ सालको कुरा हो । माओवादीको नेृतृत्वमा भएको जनयुद्ध उत्कर्षमा पुग्दै थियो । जलविरे पैरेमा शिक्षकहरुको एउटा सम्मेलनमा माओवादीको दोस्रो तहका नेताहरुसँग भेट र कुराकानी हुने सूचना पाएर काठमाडौंबाट पत्रकारहरुाको एक हुल पैरे पुगेको थियो । बाटैमा घर भएरपनि म सिधै कार्यक्रमस्थलमा पुगेको थिएँ । फर्केर आउँदा हामी जलविरेदेखि बलेफीसम्म हिँडेर फर्किदै थियौं । हजुरमा जलविरेतिर जान लाग्नु भएको रहेछ । मैले कार्यक्रममा आएको भएर घर छिर्न नपाएको कुरा हजुरबालाई सुनाएँ । हजुरबाले काठमाडौं जान भाडा छ कि छैन, पढ्न खर्च छ कि छैन नत्र लिएर जा भन्नु भयो । मैले ऐले छ, चाहिए पछि मागौंला भनेर विदा भएँ । अलि वर आएपछि मसँगै रहेका कामना प्रकाशनमा कार्यरत कृष्णराज सर्बाहारीले हजुरबारले भाडा र पढाइखर्चबारे राख्नु भएको चासो बारे आश्चर्य प्रकट गर्नु भयो । ओ हो कति तपैंले हजुरबाबाट मायाँ पाउनु भएको रहेछ भनेपछि पो, य साँचि त भन्ने भयो ।
२०६६ सालमा हजुरबाको निधन हुनु भन्दा करिब ४० दिन अघि नयाँ पत्रिकाकर्मी साथी प्रमिला देबकोटालगायत हामी केही साथीहरु हजुरबालाई भेट्न घर गयौं । बा पनि सँगै हुनुहुन्थ्यो । प्रमिलाले पछि नयाँ पत्रिकामा स्टोरी पनि गर्नुभयो । लामो कुराकानी गरेपछि हामी त्यहिदिन काठमाडौं फर्कियौं । हरेक भेटमा हजुरबाको फोटो खिच्ने मेरो चाहना हुन्थ्यो । मैले हजुरबाको फोटो खिच्न पाएको अन्तिम अबसर त्यहि थियो ।
२०६८ सालतिरको कुरा हो मसँग पांग्रेलो लेखेको बाइक थियो । त्यहि मोटरसाइकलमा घर आउजाउ गर्थें । एकदिन एक मित्रलाई पछाडि राखेर म घर हिँडेको थिएँ । खावामा निकै लामो जाम रहेछ । अलि पछि थाहा भयो प्रहरीको विशेष चेकिङ चलिरहेको रहेछ । पर्समा लाइसेन्स त थियो तर पत्रकार भनेपछि के काजगपत्र माग्लान र भन्ने पनि लागको हुनुपर्छ सवारी दर्ता किताब बोकिएको रहेनछ । पर्यो फसाद । प्रहरी जवानले हवल्दार, हवल्दारले असई हुँदै सहिले पनि छोड्न नसक्ने भने । अब ठूला हाकिमलाई कुरा गर्न भने सबैले । अलि पर प्रहरी निरिक्षक बसेका रहेछन् । उनलाई मैले कागजात बोक्न विर्सेको र आफ्नो पेशा सुनाएँ । उनले चेकजाँच विशेष भएकोले छोड्न नमिल्ने सुनाए । बाइक नै राख्नु पर्ने पो भने । म अचम्मित परें । अलमल भयो । हिनता बोध भयो । घर जान पाइएन । कागजपत्र लिन काठमाडौं फर्किनुपर्ने तर बाइकमा आउन नपाइने भैयो । म दिक्दार भएर टोलाइरहेको थिए । ति प्रहरी अधिकृतले तपैं पुग्ने चै कहाँ नि भनेर सोधे । म झसंग भएँ । मैले एकै सासमा जलविरे भनें । उनले जलविरे कहाँ भने । सबै जानकारी दिएँ । त्यसपछि एक्कासी हजुरबाको नाम लिएर त्यहाँ हिरालाल न्यौपानेलाई चिन्नुहुन्छ भनेर सोधे । म उहाँको नाती हो भनें । उहाँ हुनुहुन्छ भनेर सोधे । मैले निधन भएको २ बर्ष भएको सुनाएँ । उनले दुख व्यक्त गर्दै समवेदना दिएँ । लाईसेन्स हेरौं भने मैले देखाएँ । न्यौपाने ए, भने । उहाँकै नाती हुनुहुँदो रहेछ जानुस् तर अर्को पटक देखि काजगपत्र बोक्नुहोला भने । मैले हस भने । ति प्रहरी अधिकारी सहि हुँदा जलविरेमा बसेका रहेछन् । हजुरबालाई निकै आदर र सम्मान गर्ने उनलाई हजुबारले गुण लगाउनु भएको छ भन्थे । म बाइक चलाएर अघि बढें । केराघारीमा पुगेपछि बाइक चलाउन सकिन । साइड लगाएर रोकें । एक्कासी बरर आँसु झर्यो । बितेर गएका हजुरबाको नामले मात्रै पनि यत्रो छुट पाउने अबस्था रहेछ, त्यत्रो आदर्श हजुरबाको नाती म काजगपत्र नबोकि हिँड्दो रहेछु भनेर ग्लानी भयो । निकै बेर घुँक्क घुँक्क भइरह्रयो । विस्तारै आफूलाई सम्हालेर घर गएँ । त्यसपछि हजुरबाको सम्मानका लागि पनि कागजपत्र नबोकि सवारी चढ्दिन भन्ने प्रण गरे । त्यो प्रणको आचारण आज पर्यन्त कायम छ ।
२०८० सालमा हामी पाँच सात जना एउटा लामो हाइकिङमा थियौं । सबै चिनजानका नै । एक मित्र स्थानीय भएर पनि देश बाहिर धेरै बसेकोले मसँग हेल्लो हाइ मात्रै भयो । हिडियो । गफियौं । पाँचदिने यात्रा सकिएर छुट्नै लाग्दा उहाँले मेरो घर ट्याक्कै कहाँ भनेर सोध्नु भयो । मैले बताएपछि हजुरबाको नाम लिएर चिन्नुहुन्छ भन्नुभयो । मैले बताएपछि घप्लक्कै अँगालो हाल्नुभयो । मैले त तपैलाई उताको भन्ठानेको ए उहाँको नाति पो भनेर हजुरबासँग जोडिएका स्मृतिका पाना पल्टाउनुभयो । उहाँको घरमा हजुरबा जाँदा हजरबाका कडा अनुशासन र आचरणले प्रभावित भएका उहाँले हजुरबासँगको कुरा पछि देखाउनु भएको गहिरो आत्मियता कायम छ । यसरी हजुरबासँग जोडिएका विषयले आज पनि गर्वानुभूती हुन्छ । मन हो मान्छे हो भावनामा पनि बगिने रहेछ कैले कैले । हजुरबाप्रति सम्मान र श्रद्दासुमन ।
हजुरबासँग जोडिएको तपाइको कुनै अनुभूती छ भने खुलस्त भन्नुहोला ।
२०८२ मंसिर १०

